संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

संघीय संसद अन्तर्गत दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ ।

दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयक पारित गर्नेसम्बन्धी कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’, ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे छ ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

आजैको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूची समेत रहेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गर्नेछन् भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे । राष्ट्रियसभाको आजको बैठकबाट ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यक्रम रहेको छ ।

संसदका दुवै सदनकाे चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

Facebook Comments