विशेष महाधिवेशन पाैष मसान्तमै गर्ने कांग्रेस महामन्त्रीद्वय गगन र विश्वकाे अडान
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुषभित्रै विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छन् ।
शुक्रबार भएको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले वैशाखमा नियमित महाधिवेशन गर्ने र केन्द्रीय समिति लगायतकाे अवधि जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयमा महामन्त्रीद्वय गगन र विश्व सहित ५ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
बैठक लगत्तै सञ्चारकर्मीसँगकाे कुराकानीमा महामन्त्री गगन थापाले अब पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताउनुभएकाे छ । महामन्त्री थापाले विशेष महाधिवेशन विधानको धारा १७(२) काे प्रावधान अनुसार हुने बताउनुभएकाे छ ।
उहाँले सम्भव भएसम्म पार्टी सभापति सहितकाे सहमतिमा महाधिवेशन गर्ने त्याे नभएमा पार्टी विधान अनुसार अगाडि बढ्ने बताउनुभएकाे हाे ।
कतिपयले असहमतिका बाबजुद विशेष महाधिवेशन गर्दा पार्टी फुट्न सक्ने चिन्ता प्रकट गरेकाेप्रति विधानकाे पालना गर्दा पार्टी विभाजन नहुने तर्क थापाले गर्नुभयाे ।

