नेपाल र जापानबिचको मित्रता ऐतिहासिकः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबिचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताउनुभएकाे छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको आज अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गर्नुभयाे ।

उहाँले जापनका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य बढाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा राष्ट्रपतिकाे जोड रहेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयाे ।

“नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गरी प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयाे ।

यहाँ रहेका श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व भएको राष्ट्रपतिकाे भनाइ थियाे ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो पुग्नुभएकाे हाे ।

Facebook Comments