ग्यास सिलिण्डर भरेर काठमाडाैं सप्लाइ गरिंदै
पृथ्वी राजमार्गको कृष्णभीर लगायत अन्य स्थानमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँमा दैनिक उपभाेग्य सामाग्रीकाे ढुवानीमा समेत असर गरेकाे छ । वैकल्पिक मार्ग हुँदै दैनिक उपभाेग्य सामाग्री ढुवानी गर्दा लागत बढेकाे छ भने मुल्यबृद्धि समेत भइरहेकाे छ ।
यतिबेला खाना पकाउने ग्यासकाे पनि अभाव हुने अवस्था छ । केही समय पहिला देखि नै खाना पकाउने ग्यास सिलिण्डरकाे ढुवानीमा समस्या भइरहेकाे थियाे । भाेटेकाेशी बाढीपछिकाे महाविपत्तिका कारण ग्यासकाे बुलेट ढुवानीमा सडक मार्गका कारण कठिनाइ भएपछि बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ ।
त्यस्तै एसटिसी, साइबाबा, जानकी, सगरमाठा, सुपर ग्यास, तारा ग्यास नेपाल ग्यास, श्रीराम, एभरेष्ट र सुगम लगायतका ग्यास अन्य तराइमा रहेका अन्य कम्पनीमा भरेर काठमाडाैं लगायत प्रभािवत क्षेत्रमा पठाउन थालिएकाे छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको र भारतबाट समेत नियमित आपुर्ति भएकाले ग्यासकाे अभाव नहुने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन् ।

