नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन, पदाधिकारी बढाउनेबारे छलफल

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन यही १८ गतेदेखि २२ गतेसम्म काठमाडाैंमा हुँदैछ । याे महाधिवेशनमा नेताहरूकाे आकांक्षा पदाधिकारीमा बढी देखिएपछि पदाधिकारीकाे संख्या बढाउनेबारे छलफल शुरू भएकाे छ ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार अहिले पदाधिकारी संख्या १७ छ । यसमा केही बढाउने गरी आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन्।

अहिलेको विधानअनुसार कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री निर्वाचनबाट ८, मनोनीत सहमहामन्त्री ३ र कोषाध्यक्ष १ जना मनोनीत गरी १७ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।

त्यस्तै, केन्द्रीय कार्यसमिति २३१ सदस्यीय हुने र त्यसमध्ये ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

पार्टीभित्र उपसभापति ३ जना, जसमा एक जना महिला हुने, महामन्त्रीको संख्या ३ पुर्‍याउने तथा सहमहामन्त्रीको संख्या ११ बाट १५ जना हाराहारी पुर्‍याउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

महाधिवेशनमा ७५ सय प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयाे । पार्टी कार्यालयमा भएकाे पत्रकार सम्मेलनमा चालिसेले पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको असोज १८ गते दिउँसो काठमाडौंको खुलामञ्चमा हुने १५ औँ महाधिवेशन उद्घाटन गरेमा कांग्रेस पार्टीमा उत्साह थपिने जिकीर गर्नुभयाे ।

अग्रजका लागि सम्मान र युवाका लागि जिम्मेवारीको भावनाका साथ पार्टी अघि बढ्ने बताउँदै चालिसेले पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवेशन उद्घाटन गरेमा पार्टी एकताको सन्देश जाने जिकीर गर्नुभयाे ।

निवर्तमान सभापति देउवा पक्षले पनि मंसिरमा महाधिवेशन गर्ने गरी असोज १५ देखि वडा अधिवेशन सुरू गरेकाे छ । देउवा पक्ष मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने तयारीमा छ ।

Facebook Comments