राष्ट्रपति पौडेल र जापानका सम्राटबीच शिष्टाचार भेटवार्ता सम्पन्न

राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेटघाट भएको छ ।

जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापान नरेश नारुहितोबीच मंगलबार इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएकाे हाे ।

मंगलबार भएको भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयाे ।

उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमण गरेको स्मरण गर्नुभयाे ।

राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयाे ।

सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गर्नुभएकाे थियाे ।

भ्रमणको क्रममा उहाँले नेपाल–जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा भएकाे विशेष समारोहलाई सम्बोधन गर्नुभयाे ।

Facebook Comments