पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
यतिबेला देशभर साधारणतया बादल लागेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएकाे छ।
महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा शुक्रबार देशभर साधारणतया बादल लाग्ने उल्लेख छ ।
महाशाखाले देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी -भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग, देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
रातकाे समयमा पनि देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका जनाएकाे छ ।

