कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ । काठमाडौंको खुलामञ्चमा आज दिउँसाे २ बजे उद्घाटन समाराेहका साथ सुरू हुने महाधिवेशन असोज २२ गतेसम्म चल्ने छ। 

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ भने कांग्रेसका ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

महाधिवेशन उद्घाटन समाराेहमा सम्बाेधनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएकाे छ ।  भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ।

कांग्रेसकाे महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।

महाधिवेशनकाे बन्दसत्र असोज १९ र २० गते खुलामञ्चमै चल्नेछ भने निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।

महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ। सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी छ।

विद्युतीय मेसिनबाट मतदान हुनेछैन। एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आकलन छ।

केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन् ।

केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ। नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन् र २३१ सदस्यीय कार्यसमिति बन्नेछ। विगतमा १६८ सदस्यीय कार्यसमिति थियो ।

Facebook Comments