चार प्रदेशमा हल्का वर्षाकाे संभावना, मनसुनी वायूकाे प्रभाव कम हुँदै

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुकाे प्रभाव रहेकाे छ । महाशाखाले कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको र मनसुन नेपालकाे भू-भागबाट बाहिरिने क्रममा रहेकाे जनाएकाे छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसाे कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने उल्लेख छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्ने भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा एवं हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार रातीकाे समयमा कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भने देशका पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ । महाशाखाले मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

Facebook Comments