वर्षा र बाढीले मुख्य राजमार्गहरूमा सवारी अवरुद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका १० जिल्लामा पर्ने मुख्य राजमार्गहरूका सडक खण्डहरूमा सवारी सन्चालन हुन सकेकाे छैन ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशुली-स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन् । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा ठूलो पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ भने सोही राजमार्गको परेवा भिरमा पनि त्रिशुलीले सडक कटान गरेकाले मर्मत सम्भारका लागि शनिबार यातायात सन्चालनमा राेक लगाइएकाे छ ।

म्याग्दीको बेनी-जोमसोम सडक खण्ड, मुगुको मुगु-गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

रोल्पाको शहीद मार्ग अन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।

काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सुचारु छ भने बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा १० टनसम्मका सवारीलाई निश्चित समय तोकेर मात्र अनुमति दिइएको छ।

नुवाकोटको टोखा-छहरे सडकमा रातिको समयमा यात्रामा रोक लगाइएको छ भने बाढीले गर्दा बेत्रावतीस्थित पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। 

Facebook Comments