कांग्रेसकाे महाधिवेशनकाे दाेस्राे दिनः बन्दसत्रमा राजनीतिक लगायतका प्रतिवेदन पेश हुने
काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । हिजाे खुलामञ्चमा उद्घाटन गरिएकाे महाधिवेशन अन्तर्गत बन्दसत्र हुन लागेकाे हाे । बन्दसत्रका लागि खुलामञ्चमा नै टेन्ट लगाएर हल तयार पारिएकाे छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् ।

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएकाे छ । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आजैबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुनेछ । आज मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन समितिकाे तयारी छ ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिनुभयाे ।
तस्वीरः प्रदीपराज वन्त

