रुस र युक्रेनबिच यूएईमा वार्ता, केही बन्दी साटासाट

रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा वार्ता भइरहेकाे छ ।

वार्ताकै दाैरान चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये ७ जना सर्वसाधारण छन् भने बाँकी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन्। फर्किएकामध्ये अधिकांश सन् २०२२ देखि रुसी कब्जामा थिए।

रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १५७ सैनिकका साथै युक्रेनी कब्जामा रहेका तीन रुसी नागरिकलाई मुक्त गरिएको पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको यो वार्तामा विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी छन् । वार्ताका क्रममा मुख्यगरी क्षेत्रीय अखण्डता र भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्नका लागि युक्रेनले मागेको सुरक्षा ग्यारेन्टीका विषयमा छलफल केन्द्रित भएको छ ।

Facebook Comments