रसुवा भाेटेकाेशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गरिने

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गरिने भएकाे छ । सरकारले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हाे ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले अस्थायी आवास निर्माण कार्य अगाडि बढाउने निर्णय गर्दै पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ।

प्राधिकरणका अनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्नेछ ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रका स्थानीय तहलाई प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति संख्यामा घर बनाउनुपर्ने हो यकिन गर्न पत्राचार गर्ने भएकाे छ ।

Facebook Comments