राष्ट्रियसभा निर्वाचन उम्मेदवारी दर्ता आज
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ।
पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका छ। उम्मेदवारकाे मनाेनयन उक्त मनोनयन दर्ता प्रदेश–प्रदेशमा हुने छ।
राष्ट्रियसभामा हाल रहेका एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, जसपा नेपाल र लोसपा नेपालका समान १–१ र एक स्थान मनोनीतको कोटा रिक्त हुन लागेको हो।
एमाले सांसद इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसीको पदावधि सकिँदै छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान र बेदुराम भूसालको पदावधि सकिँदै छ।
जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिँदै छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटाबाट सांसद बनेका नेकपा नेता वामदेव गौतमको पदावधि पनि सकिँदै छ।
रिक्त १८ स्थानका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालबीच चुनावी तालमेल गर्ने तयारीमा छन् । सहमति भएमा ती दलले क्लस्टर बाँडफाँट गरेर उम्मेदवारी दर्ता गर्नेछन् ।

