पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शाेभा गाैतम निर्वाचित
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ । साेमबार सम्पन्न संघकाे ३६औँ महाधिवेशनबाट महिला उद्यमी गाैतम अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।
वि.सं. २०११ मा स्थापना भएको संघको ७२ वर्षे लामो इतिहासमा महिलाले नेतृत्वको जिम्मेवारी सम्हालेको यो पहिलोपटक हो । कडा चुनावी प्रतिस्पर्धामा चार जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गौतमले यो ऐतिहासिक जित हासिल गर्नुभयाे ।
यसअघि संघको कार्यसमिति सदस्य, उप–महासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतमले निजी क्षेत्रको समावेशी नेतृत्व, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएकाे थियाे ।
अध्यक्षमा गाैतमसहित अर्जुन पाेखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्य प्रतिस्पर्धामा उत्रेका थिए ।

नेपालकै जेठोमध्येको एक प्रतिष्ठित व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सयभन्दा बढी उद्योगी–व्यवसायीहरू आबद्ध छन् ।

