माैसमः मनसुनी वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाँउ तथा बागमती र लुम्बिनी प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।

बुधबार दिउँसाे देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्ने, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ । महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भू-भागका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

बुधबार सुदूरपश्चिम प्रदेश सबै भू-भाग तथा देशको हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार  देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा बिहानीपख हुस्सु एवं कुहिरो पनि समभावना छ ।

देशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागको एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले मधेश प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुसार कास्कीमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन भएको छ । यसलाई भारी वर्षा भएको मानिन्छ । यस्तै, कास्कीकै पोखरा स्टेशनमा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर, चितवन, काभ्रेसहित देशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । आज पनि केही स्थानहरुमा भारीदेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ ।

यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।

Facebook Comments