राजनीतिक यात्राका लागि कुलमान घिसिङद्वारा मन्त्री पदबाट राजीनामा
जेन–जी आन्दोलनपछि बनेकाे सरकारमा मन्त्री बन्नुभएका कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ ।
राजनीतिक रूपमा सक्रिय भएपछि मन्त्री घिसिङमाथि राजीनामाकाे दबाब थियाे । प्रधानमन्त्री सुशीला कार्कीले मुख फाेरेरै राजीनामा माग गर्नुभएकाे बिषय पनि सार्वजनिक भएका थिए ।
राजीनामा घाेषणा गर्दा भने उहाँले हालसम्म आफू कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा सहभागी नभएको तथा सदस्यता नलिएको जिकीर गर्नुभयाे ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी घिसिङकाे नेतृत्वमा थियाे । घिसिङकाे अग्रसरतामा खाेलिएकाे उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी एकताको सहमति भएपछि उहाँ स्वयं रास्वपाकाे उपसभापति बन्ने निश्चित भएकाे थयाे ।
करिब ११५ दिन मन्त्रीको जिम्मेवारी सम्हालेर राजीनामा दिनुभएका घिसिङले जेन–जी आन्दोलनबाट प्राप्त म्यान्डेटअनुसार आफूले इमान्दारीपूर्वक देश र जनताको हितमा काम गरेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री कार्की र जेन–जी आन्दोलनप्रति धन्यवाद प्रकट गर्नुभयाे ।
राजनीतिक यात्राका लागि राजीनामा दिएकाे उल्लेख गर्दै उहाँले राजीनामा भाग्ने निर्णय नभई जनताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएको जिकीर गर्नुभयाे ।

