माैसमः पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा र हिमपातकाे संभावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ ।
महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीका साथै असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।
महाशाखाले बुधबार राती देशभर साधारणतया बादल लाग्ने जनाएकाे छ । त्यस्तै कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरुमा स्थानहरुमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

