प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा बुधबार निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
निजी क्षेत्रका ६ प्रमुख प्रतिनिधिहरूसँग प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (बुधबार) करिब दुई घण्टा लामो छलफल गर्नुभएकाे हाे ।
छलफलको सुरूआतमा नै निकै अनौपचारिक ढंगले आफूले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्न खोजेको भन्दै कुरा राख्न प्रधानमन्त्री शाहले सहजीकरण गर्नुभएकाे छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिनुभयाे ।
छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग मुलुकको आर्थिक गतिविधिलाई चलायमान तथा सुदृढ बनाउने, उद्योग–व्यवसायका गतिविधिलाई तीव्र बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा छलफल गर्नुभएकाे थियाे ।
उहाँले नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा सरकारले सहजीकरण गर्ने धारणा राख्नुभएकाे थियाे ।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित, प्रभावकारी र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव राखेका थिए ।

