‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौँमा एक कार्यक्रम गरी ‘अग्रगामी मोर्चा’ घोषणा गरिएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयाे ।

अध्यक्ष उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभयाे ।

विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारुलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उहाँको आरोप थियाे। 

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन सङ्कटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयाे ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताउनुभयाे । अध्यक्ष राउतले देश सङ्कटमा परेका बेला यो कदम चालिएको जिकीर गर्नुभयाे । विगतमा आफूहरूबाट भएका गल्तीहरू सुधारेर अगाडि बढ्ने प्रतिबद्धतासहित मोर्चा गठन गरिएको उहाँकाे भनाइ थियाे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने अपेक्षा राख्नुभयाे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको बताउनुभयाे । अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा लाग्ने बताउनुभयाे ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिन लागिपर्ने बताउनुभयाे । उहाँले उत्पीडित समुदायको हकअधिकार रक्षाका लागि यो मोर्चा बनेको जिकीर गर्नुभयाे ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभयाे । उहाँले निर्वाचनका बेला गरिएका प्रतिवद्धताबाट वर्तमान सरकार पछि हटिरहेकाे बताउनुभयाे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति असजिलाे बिषय भएकाे बताउनुभयाे । उहाँले राजनीतिमा अनेक फाेहाेरी खेल हुने भन्दै माेर्चाले चुनौती र कठिनाइको सामाना गर्दै जनताकाे पक्षमा काम गर्ने बताउनुभयाे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने दाबी गर्नुभयाे ।

Facebook Comments