जेनजी सहिद दिवस मनाइँदै

आज भदौ २३ गते, जेनजी पुस्ताले गरेकाे आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठुलो परिवर्तन भएको छ । आन्दोलनकर्मीहरूकाे माग अनुसार तत्कालीन संसद विघटन भइ गत फागुनमा सम्पन्न निर्वाचनबाट नयाँ म्यान्डेट सहित सरकार बनेकाे छ ।

आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।

जेनजी आन्दोलनको तत्कालीन पृष्ठभूमि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएनः सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो । त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा काठमाडौँलगायत देशका विभिन्न स्थानमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो । आन्दोलनको स्वरूप र माग विस्तार हुँदै जाँदा यो केबल सामाजिक सञ्जालको स्वतन्त्रताको प्रश्न रहेन ।

भ्रष्टाचार नियन्त्रण, राजनीतिक जबाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बनेकाे थियाे ।

भाद्र २३ गतेकाे आन्दोलनका क्रममा दमन हुँदा दर्जनाै किशाेर अवस्थाका युवाहरूकाे ज्यान गएपछि २४ गते आन्दोलन थप चर्कदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेकाे थियाे । आन्दोलनका क्रममा ठूलाे जनधनकाे क्षति भएकाे थियाे ।

Facebook Comments