पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको जनाएकाे छ।
मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार देशभर साधारणतया बादल लागेको छ भने कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
महाशाखाले विहीबार दिउँसो देशभर अधिकांश बादल लाग्ने जनाएकाे छ ।
महाशाखाका अनुसार देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी,लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार विहीबार राती देशभर अधिकांश बादल लाग्नेछ ।
महाशाखाले कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले मधेश प्रदेश साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।
रातकाे समयमा मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

