पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।
हाल मौसमको अवस्थाका बारेमा महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल तथा कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको उल्लेख छ । महाशाखाले पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाका अनुसार विहीबार दिउँसाे तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्नेछ ।
देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाले जारी गरेकाे बुलेटिनमा देशको पहाडी तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे उल्लेख छ ।
रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । त्यस्तै देशको पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

