नेपाली कम्युनिष्ट पार्टी(नेकपा)काे निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

२२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेकपाले निर्वाचनका लागि राेजगारी सिर्जना, राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण लगायतका बिषय समेटेर प्रतिबद्धता सार्वजनिक गरेकाे हाे ।

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा तय गरेकाे छ ।

प्रतिबद्धतापत्रमा स्वाधीन र समृद्ध नेपाल निर्माण परिकल्पना गरिएकाे छ ।
पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक अवस्था बदल्ने संकल्प प्रतिबद्धता पत्रमा समेटिएकाे छ । प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ ।

नेकपाले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले सुधार गर्नुपर्ने उल्लेख गरेकाे छ । भाद्र २३ र २४ गते भएकाे जेनजी पुस्ताले गरेकाे आन्दाेलनकाे मर्म बुझ्ने पार्टी नेकमा भएकाे जिकीर प्रतिबद्धतापत्रमा गरिएकाे छ ।
प्रतिबद्धता पत्रमा भनिएको छ, “जेन–जी पुस्ताको मर्म र मुलुकको आवश्यकता अनुरूप शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरिनेछ।”

यसअन्तर्गत सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, सांसदहरूलाई विधायकको भुमिकामा मात्र सीमित राख्ने र सङ्घीयताको मर्मअनुसार अधिकारको बाँडफाँट गर्ने योजना अघि सारिएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पार्टीले प्राथमिकता दिने तथा सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै आगामी ५ वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने महत्वाकाङ्क्षी लक्ष्य पार्टीले लिएको छ । हाल २०.१५ प्रतिशत रहेको बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने योजना छ । प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने र वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने नीति लिइएको छ ।
साथै, उत्पादन लागत कम गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र व्यापार घाटा न्युनिकरण गर्ने रणनीति तय गरिएको छ ।
त्यस्तै कृषि र भूमि व्यवस्थामा सुधार गरी खाद्यान्नमा आत्मनिर्भर हुने योजना, स्वास्थ्य सेवालाई पूर्णरूपमा निःशुल्क र मौलिक हकको रूपमा कार्यान्वयन गर्ने नीति अबलम्वन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
संविधानप्रदत्त मौलिक हकको पूर्ण कार्यान्वयनलाई जोड दिँदै पार्टीले शिक्षा र स्वास्थ्यलाई नाफामूलक व्यापारबाट सेवामूलक क्षेत्रमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

शिक्षा, स्वास्थ्य लगायतका सार्वजनिक सराेकारका निकायमा राजनीतिक हस्तक्षेप नगर्ने नीति लिने साे पार्टीले जनाएकाे छ ।

