माैसमः पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली र पहाडी साथै पश्चिम तराई भू-भागमा साधारणतया बादल लागेको बुलेटिनमा उल्लेख गरेकाे छ ।

त्यसैगरी बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मंगलबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । 

दिन तथा रातकाे समयमा समेत देशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै देशको पहाडी भू-भागको केही स्थान र तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। रातकाे समयमा पनि देशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments