एसईईको नतिजामा ४ प्रतिशतले सुधार

राष्ट्रिय परीक्षा बोर्डले साेमबार अबेर सार्वजनिक गरेकाे २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ४ प्रतिशत बढीकाे सुधार देखिएकाे छ ।

परीक्षा सकिएकाे २९ दिनमा सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएकाे र यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको बाेर्डले जनाएकाे छ । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए ।

यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । त्यस्तै जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।

बाेर्डले २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । बाेर्डका अनुसार जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले दिएकाे निर्देशन बमाेजिम २९ दिनमै नतिजा प्रकाशित गरिएकाे हाे ।

बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ ।

Facebook Comments