संसदका ७ वटा विषयगत समितिका बैठकहरू बस्दै
आजै संघीय संसद् अन्तर्गत विभिन्न सात वटा विषयगत समितिका बैठकहरू बस्दै छन् ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।
त्यसैगरी बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गर्ने तयारी छ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुने कार्यसूची छ ।

फाइल फाेटाे
बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरूमाथि छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय र सम्झौताको कार्यान्वयनको अवस्थाका साथै आगामी जलवायु परिवर्तन सम्मेलन (कोप ३१) का लागि नेपालको तयारीबारे सरकारी अधिकारीहरूसँग जानकारी लिइनेछ ।
बिहान १० बजे बस्ने उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि आजै बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।


