पाँच प्रदेशका केही स्थानहरूमा मध्यमसम्मकाे वर्षा हुने संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मध्यमसम्मकाे वर्षा हुने संभावना छ ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको उल्लेख छ।

महाशाखाले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएकाे छ ।

महाशाखाका अनुसार विहीबार देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र देशका पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ । देशका तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै मधेश प्रदेश साथै कोशी, बागमती र, गण्डकी  प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका  एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ।

Facebook Comments