थाइल्यान्डकाे एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परी  दर्जनाै घाइते भएकाे बताइएकाे छ ।

सरकारी अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव निकालिएको छ भने ६० जना घाइतेहरूलाई अस्पताल लगिएको छ।

आइतबार मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरू आगोको लप्काबाट उम्कन मुख्य ढोकाबाट भागिरहेका थिए । केही व्यक्तिहरू भने भागदाैडका क्रममा घाइते भएका हुन् ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ। 

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठुलो क्षति भइसकेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउने २७ जनामा नौ पुरुष र १८ महिला छन् ।

बैङ्ककको चाटुचक जिल्लामा रहेको उक्त बारको नाम ‘रोङ बियर ना लात फ्राओ’ रहेको र यो स्थानीय क्षेत्रमा निकै लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल बनेकाे थियाे ।

आगलागी नियन्त्रण पछि सार्वजनिक भएका तस्बिरहरूमा बार बाहिर शव राखिएका झोलाहरू लस्करै देखिन्छन् । रेष्टुरेन्टमा पूर्ण रूपमा क्षति पुगेकाे छ ।

Facebook Comments