कांग्रेस निवर्तमान सभापति देउवा स्वदेश फिर्ता

नेपाली कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कनुभएकाे छ ।

सिंगापुर र हङकङमा उपचार गराएर ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै देउवा चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालय पुग्नुभएकाे थियाे ।

देउवाले सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्ने क्रममा राजाकाे पालामा ज्ञानेन्द्र शाहले केही गर्न नसकेकाे अवस्थामा अहिलेकाे सरकारले के गर्न सक्छ भन्दै प्रश्न गर्नुभएकाे छ ।

त्यस क्रममा पूर्वप्रधानमन्त्री देउवाले पछिल्लो पटक जेनजी आन्दोलनपछि सरकारले विभिन्न फट्याइँ गरेर छानविन एवं पक्राउ गर्न खाेजेपनि सफल नभएकाे जिकीर गर्नुभयाे ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि गरेको अनुसन्धानतर्फ संकेत गर्दै पक्राउ पुर्जी लिएर पक्राउ गर्न खोजेकोसमेत उल्लेख गर्नुभयाे ।

भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो।

आगजनीका क्रममा जलेका टुक्रा नोट फेला परेको सामाजिक सञ्जालमा भिडिओ आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्कासमेत उठाएको थियो।

साथै देउवालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जीका आधारमा देउवालाई पक्राउ नगर्न भनेको थियो । रेड कर्नर नाेटिस जारी गर्न अनुराेध गरेपनि साे पनि सफल नभएकाे देउवाकाे तर्क थियाे ।

‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भन्नुभयाे, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो। तैपनि बदमासी गर्‍यो।’ उहाँले जनता र अदालतप्रति भराेसा रहेकाे पनि उल्लेख गर्नुभयाे ।

देउवाले नेताका रूपमा भन्दा पनि नागरिकका रूपमा नेपाल फर्किएकाे र काँग्रेसभित्र देखिएकाे विवाद अन्त्य हुनुपर्ने धारणा राख्नुभयाे ।

देउवाले स्वदेश फिर्ताकाे अवसरमा विज्ञप्ति समेत निकालेर कांग्रेसले युवा पुस्ताले माग गरेकाे परिवर्तनलाइ आत्मासाथ गरेकाे बताउनुभएकाे छ ।

Facebook Comments