सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं उपस्थित हुनु नपर्ने
नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं उपस्थित हुनुपर्ने साविककाे ब्यवस्था हटाइएकाे यातायात व्यवस्था कार्यालयले जनाएकाे छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत् निर्देशिकामा रहेका केही प्रावधान संशोधन गरेको जनाएकाे छ ।
संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ । त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर सवारी साधन जाँच गराउनुपर्ने छैन ।
त्यस्तै, सवारी साधन खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ ।
सवारी साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्न सक्ने जनाएकाे छ ।
नयाँ व्यवस्थाअनुसार सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्नसमेत सवारीधनी यातायात व्यवस्था कार्यालयमा नभएमा पनि कार्य हुने जनाएकाे छ ।
भिआरएस प्रणालीमा प्राविधिक पहुँच उपलब्ध गराइ सवारी दर्ता, नवीकरण लगायतका कार्यमा बायाेमेट्रिक लिन मिल्ने गरी विक्रेता, वितरक र कम्पनीलाई सहज बनाउने विभागले जनाएकाे छ ।


