बंगलादेशमा बिएनपी दुई तिहाई सिटमा विजयी, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ।
अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेको छ। बिएनपी)ले अहिलेसम्म २१३ सिट जितेको छ । प्रतिनिधि सभाको ३०० सिटमध्ये २९९ सिटमा चुनाव भएको थियो।
एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको थियो । दुई तिहाईका लागि कम्तिमा २०० सिट जित्न आवश्यक रहनेमा बिएनपीले २१३ सिट ल्याएकाे हाे ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान नेतृत्वको बिएनपीलाई बंगलादेशका जनताले भव्य अनुमोदन गरेको भनेर सञ्चारमाध्यमहरुमा उल्लेख गरिएकाे छ ।
औपचारिक रूपमा नतिजा घोषणा भएपछि बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुने निश्चित जस्तै छ ।
यसपटक पूर्व प्रधानमन्त्री शेख हसिनाकाे नेतृत्वमा रहेकाे दल अवामी लिग प्रतिस्पर्धामा नभएका कारण पनि बिएनपीले याे सफलता हाँसिल गरेकाे विश्लेषण पनि भएकाे छ ।
२०२४ को जुलाइमा विद्यार्थीको आन्दोलन चर्किँदा हसिनाकाे सरकार ढलेकाे थियाे । हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासनमा जानुपरेकाे थियाे ।
अवामी लिगको अनुपस्थितिमा जमात-ए-मुस्लिम पार्टीले बिएनपीसँग प्रतिस्पर्धा गरेको थियो। जमात-ए-मुस्लिमले विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसिपी) लगायत ११ दलसँग गठबन्धन गरेको थियो।
त्यसका बाबजुद उक्त गठबन्धनले ७६ सिट मात्रै ल्याएको छ ।


