विशेष महाधिवेशनले कांग्रेस पार्टी कमजाेर बनायाेः देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनले गर्दा कांग्रेस पार्टी कमजाेर बनेकाे टिप्पणी गर्नुभएकाे छ ।

विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिच्ने काम भएकाे देउवाकाे टिप्पणी छ ।

पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै  काठमाडौँमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सर्वाेच्च अदालतले विशेष महाधिवेशनकाे निर्णय उपर न्याय दिने विश्वास व्यक्त गर्नुभयाे ।

देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी गर्दै २००७ साल अघिको अवस्था हेर्न बुझ्न सुझाव दिनुभयाे । उहाँ २००७, २०३६, २०४६ र २०६२/०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएकाे जिकीर समेत गर्नुभयाे ।

मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा सङ्कटग्रस्त परिस्थितिमा पुगेकाे भन्दै देउवाले जनतामा देखिएकाे निराशासलाई आशामा बदल्नुपर्ने जिम्मेवारी कांग्रेस सामु बताउनुभयाे ।

देउवाले संविधानप्रदत्त अधिकार प्राप्तिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

देउवाले पार्टीभित्र बृहत्तर एकताका लागि एकजुट हुन नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गर्नुभयाे । सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक रहेकाे देउवाकाे भनाइ थियाे ।

Facebook Comments