महाशिवरात्रि उल्लासका साथ मनाइँदै

आज महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा महाशिवरात्रि मनाउन लागिएकाे हाे ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।

महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ ।

शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास छ । त्यस्तै लिङ्ग पुराणमा उपवास, ध्यान र पूजाबाट शिव लोक प्राप्त हुने उल्लेख गरिएको छ भने पद्य पुराण अनुसार व्रत बस्ने पुरुष वा महिला आरोग्य र सौभाग्यले सम्पन्न हुने विश्वास गरिन्छ ।

शिवरात्रिको मुख्य पूजा विधिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक प्रमुख मानिन्छ । प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गरिन्छ । शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ ।

शिवरात्रीका सन्दर्भमा धार्मिक रूपमा मानिसहरूको हित गर्ने शिवरात्रि समान अन्य कुनै व्रत नरहेकाे विश्वास गरिन्छ । यसबाट मानिसहरूले धर्म प्राप्त गर्दछन् । निष्काम कर्म गर्ने अथवा सकाम कर्म गर्ने सबै प्रकारका भक्तहरू यसबाट लाभान्वित हुन्छन् । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्ण एवं ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र संन्यास यी चार आश्रमका मानिसहरूले श्रद्धापूर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरु वर्ण र आश्रमसम्मत आ–आफ्नो उद्देश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नरनारी, बालक, बालिका र सबै वर्णका मानिसहरू सबैले श्रद्धापूर्वक गर्नुपर्दछ । यस व्रतबाट विभिन्न प्राणीहरू, मानवजाती, देवता, पितृ, ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।

यस अवसरमा काठमाडाैंमा पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, देवघाट धाम, खोटाङको हलेसी महादेव मन्दिर लगायत देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पशुपतिनाथ क्षेत्रमा विशेष मेला लाग्नुका साथै स्वदेश तथा भारतबाट आएका साधु सन्तहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

त्यस्तै गरी देशैभर हिन्दु धर्मका अनुयायीहरूले नजिक रहेकाे शिवमन्दिरमा व्रत एवं भजन किर्तन गरेर शिवरात्री पर्व मनाउने चलन रहेकाे छ ।

Facebook Comments