देशभरि मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक परिचालन
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेकाे छ ।
मतदाता शिक्षा कार्यक्रम देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएकाे छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न लागिएकाे हाे ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम गर्न लागिएकाे हाे ।
आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।


