स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै
शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ ।
कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको छ । यी देवीका चार हातमध्ये दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको र तल्लो हातमा कमलको फूल सुशोभित छ । देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ।
स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता रहेको छ । देवी भागवत पुराणका अनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआजा गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।
यस दिन भक्तजनहरूले शुद्ध भई हरियो रंगको वस्त्र पहिरिएर उत्तरतर्फ मुख गरी पूजा गर्ने शास्त्रीय मान्यता छ। देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, सेतो वा कमलको फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ ।
नवरात्रकाे अवसरमा देशभरका विभिन्न शक्तिपिठहरूमा भक्तजनहरू पूजा-आराधना गर्नका लागि पुग्ने गर्दछन् ।


