माैसमः कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा
हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान विभागका अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ ।
त्यस्तै मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी हिमाली भू-भागमा आंशिक बादल छ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको थोरै तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
शनिबार दिउँसाे कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाल र पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेको छ । महाशाखाले तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाले शनिबार राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने उल्लेख गरेकाे छ ।
रातकाे समयमा मधेश प्रदेशका साथै बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ । मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ ।

