रास्वपा असारमा घाेषित महाधिवेशनकाे तयारीमा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असारका लागि पहिलाे महाधिवेशनकाे घाेषणा गरेकाे छ ।

पार्टी स्थापना भएको चार वर्ष पुगेकै दिन असार ७ देखि ९ गतेसम्म पहिलाे महाधिवेशन गर्ने तयारीमा रास्वपा जुटेकाे हाे ।

२०७९ असार ७ मा रास्वपा गठन भएकाे थियाे । फागुनका लागि महाधिवेशनकाे मिति तय गरेकाे भएपनि राजनीतिक उथलपुथलसँगै फागुनमा प्रतिनिधिसभा हुने भएपछि रास्वपाले महाधिवेशन स्थगित गरेकाे थियाे ।

रास्वपाको ३० वैशाखमा बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेकाे हाे । महाधिवेशनकै तयारी स्वरूप रास्वपाले तल्लाे तहका भेला एवं अधिवेशन गर्दैछ ।

शनिबार तदर्थ समिति गठन हुन नसकेका वडा र ९ जेठमा तदर्थ समिति नभएका पालिकाहरूको भेला डाकिएको छ । ती भेलाबाट यसअघि समिति बन्न नसकेका वडा र पालिकामा तदर्थ समिति बन्ने भएको छ ।

तदर्थ समिति बनिसकेका वडा र पालिकाको अधिवेशन जेठ ३ गतेका लागि वडा र १० गते पालिकाकाे अधिवेशन गर्ने गरी कार्यतालिका तय भइसकेकाे छ ।

त्यस्तै बाँकी वडाहरूकाे जेठ १६ र पालिकाकाे १७ जेठमा अधिवेशन गर्ने कार्यतालिका तय गरिएकाे छ ।

तल्ला तहकाे ३० प्रतिशत मात्र अधिवेशन भएपनि उपल्लाे तहकाे अधिवेशन गर्न सकिने विधि रास्वपाले तय गरेकाे छ ।

महाधिवेशनमा प्रतिनिधि छनाैट गर्नका लागि विधानमै संख्या ताेकिएकाे छ ।

जस अनुसार पालिकाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दा २०१ भन्दा बढी पार्टी सदस्य भएको गाँउपालिकाबाट १ जना, ४०१ भन्दा बढी पार्टी सदस्य भएको नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी पार्टी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएको महानगरपालिकाबाट ४ जना प्रतिनिधि छनोट हुनेछन् ।

महाधिवेशनमा केन्द्रीय तहमा रहेका सबै पार्टी संरचनामा क्रियाशील सदस्यहरू, सांसदहरू स्वतः प्रतिनिधि बन्नेछन् । केन्द्रीय विभागबाट ११/११ जना प्रतिनिधि छनाैट हुनेछन् । रास्वपाका ३६ विभाग रहेका छन् ।

रास्वपाले जिल्लाक अधिवेशन जेठकाे २३ र २४ गते, प्रदेशकाे अधिवेशन भने जेठ २६ देखि असार १ सम्ममा सक्ने कार्यतालिका बनाएको छ ।

Facebook Comments