बाढी पहिराेकाे कहर, विभिन्न राजमार्गमा सवारी आवागमन अवरूद्ध

अविरल वर्षा, बाढी पहिराेका कारण देशका विभिन्न जिल्लामा राजमार्ग अन्तर्गतका सडक खण्डहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ र रोल्पाका विभिन्न राजमार्ग अन्तर्तका सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ  ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएराती  चितवन इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरोले अवरूद्ध सडक पहिराे हटाएपछि सन्चालनमा रहेकाे छ ।

साे सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ । बिहान ०६:४५ बजेदेखि नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन सूचारू भएकाे हाे ।

२०८३ साउन ३० गते राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

Facebook Comments