माैसमः तराईका केही स्थानमा कुहिरो लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षा एवं हिमपातकाे संभावना
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ ।
त्यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ ।
महाशाका अनुसार मंगलबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाले गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

