वैदेशिक रोजगार व्यवसायी आन्दाेलित, व्यवसाय बन्द गर्ने घाेषणा
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्दकाे घाेषणा गरेको छ।
म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत राेकेर व्यवसायी आन्दाेलित भएका हुन् ।
संघले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का लगायतका विराेध कार्यक्रम गरेकाे थियाे । जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि आइतबारसम्मकाे समयसीमा दिइएकाे र साे समयसीमा समाप्त भएपछि सोमबारदेखि पूर्ण रूपमा काम-कारोबार ठप्प गर्न लागिएको संघले जनाएकाे छ ।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागहरूबारे कुनै सहमति हुन सकेन । मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ।
जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता नगर्ने संघले जनाएकाे छ ।

