चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको उल्लेख छ ।

त्यस्तै हाल देशभर साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशका धेरै स्थानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार साेमबार दिउँसाे र रातकाे समयमा पनि देशभर साधारणतया बादल लाग्नेछ ।

दिनकाे समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा  मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार काेशी र बागमतीकाे हिमाली क्षेत्रका केही स्थानमा हिमपातकाे संभावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

त्यस्तै साेमबार राती देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । त्यस्तै गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशकाको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 

Facebook Comments