पत्रकार श्रेष्ठलाई छाड्न सर्वाेच्चकाे परमादेश, आजै रिहा हुने
सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न परामादेश जारी गरेकाे छ । सर्वाेच्चकाे आदेशसँगै श्रेष्ठलाई आजै रिहा गर्ने प्रहरीकाे तयारी छ ।
सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।
अदालत प्रशासनका अनुसार अब श्रेष्ठलाई महाराजगञ्ज पुर्याएर सहिछाप गरेर आज नै छाडिनेछ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो ।
श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।
काठमाडाैं जिल्ला अदालतले भने साेमबारै ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे थियाे । सर्वाेच्चकाे आदेशपछि जिल्लाकाे आदेश भने निष्क्रिय हुनेछ ।
अदालतले श्रेष्ठलाई निजकाे घर तथा कार्यालयबाट नियन्त्रणमा लिएका सम्पूर्ण सामानसमेत अदालतका रजिष्ट्रारकाे राेहबरमा फिर्ता गर्न आदेश गरेकाे छ।
अदालतले आदेशमा उल्लेख भएअनुसार, जुन तस्बिरका कारण ‘गोपनीयताको हक’ हनन भएको भन्दै उजुरी परेको थियो, त्यो तस्बिर जाहेरवाला (उजुरीकर्ता) आफैँले पहिले नै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिसकेको देखिएको छ। जाहेरवालाले आफैँ सार्वजनिक गरिसकेको तथ्यलाई सरकारी पक्षले अदालतमा खण्डन गर्न नसकेकाे तथा आफैँले सार्वजनिक गरेको सामग्रीका आधारमा फौजदारी कसुर ठहर गरी थुनामा राख्नु न्यायसङ्गत नहुने अदालतको ठहर छ।
त्यस्तै अदालतले प्रेस स्वतन्त्रता र गोपनीयताको हकबिचको सन्तुलन नभएको देखिएको जनाएकाे छ । अदालतले व्यक्तिको गोपनीयताको हक महत्त्वपूर्ण भए तापनि सञ्चार संस्थालाई अवरुद्ध गर्ने, छापाखाना वा विद्युतीय उपकरण जफत गर्ने र सम्पादकलाई थुन्ने कार्यले संविधानले दिएको सञ्चारको हक कुण्ठित हुने आदेशमा उल्लेख गरेको छ ।

