नेपाल विद्युत् प्राधिकरणकाे आम्दानी घट्याे

नेपाल विद्युत् प्राधिकरणले साेमबार ४१औँ वार्षिकोत्सव मनाएकाे छ । सोमबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् क्षेत्रको आगामी प्राथमिकता उत्पादन बढाउने मात्र नभई उत्पादित विद्युत्बाट आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने हुनुपर्ने बताउनुभएकाे छ ।

उहाँले गार्हस्थ्य उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् तथा उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् उपलब्ध गराउनेतर्फ सरकार प्रयासरत रहेको जानकारी दिनुभयाे ।

मन्त्री श्रेष्ठका अनुसार हाल नेपालमा विद्युत् पहुँच ९७.६ प्रतिशत जनसंख्यामा पुगेको छ भने ५९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवासँग जोडिएका छन् ।

मन्त्री श्रेष्ठले उत्पादन विस्तारसँगै प्रसारण प्रणाली विस्तार र सुदृढीकरण गर्न नसके उत्पादित विद्युत्‌को पूर्ण उपयोग हुन नसक्ने स्पष्ट पार्दै रणनीतिक प्रसारण लाइन, सबस्टेसन, ग्रिड सुदृढीकरण तथा अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा जाेड दिनुभयाे ।

नाफामा कमी

नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि नाफामा कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५ अर्ब ४ करोड रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा खुद नाफा ४३ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोडले कमी हो । उक्त आर्थिक वर्षमा प्राधिकरणको कर अघिको नाफा ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ ।

जसमध्ये विद्युत् बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड भएको छ ।

Facebook Comments