माैसमः न्यून चापिय प्रणालीको आंशिक प्रभाव
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ । त्यस्तै तराई भू-भागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ ।
त्यस्तै विहीबार राती काेशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाकाे अनुमान छ। मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ भने तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

