रास्वपाकाे उद्घाेष सभाः पुराना पार्टीका सटर बन्द गर्ने, खाेरमा राखेरै भएपनि विकास गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट उद्घोष सभाकाे नामबाट चुनावी सभा सुरू गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे प्रचारमा चुनावी सभालाई सम्बाेधन गर्दै सभापति रवि लामिछानेले यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको जिकीर गर्नुभयाे ।

उहाँले मत नबाँडीकन रास्वपालाई विजयी बनाइदिन अनुराेध गर्नुभयाे । फागुन २१ काे निर्वाचनमा पुराना पार्टीहरूकाे सटर बन्द गराइदिने उहाँकाे दावी थियाे ।
‘चुनाव पहिला पनि भएको हो। कुनै न कुनै नेताले सँधै जितेकै हो। तर सधैँ नेताले जिते जनताले कहिल्यै जितेनन्। यसपालि जनता जिताउने हो,’ लामिछानेले भन्नुभयाे, ‘व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। इतिहास बदल्ने सोच लिएर आएका छौ। मेरो राजनीतिक आकांक्षा अरू कसैको राजनीतिक आकांक्षा ठूलो कुरो होइन देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपालि आएका छौं।’
धनगढीमा भएको सभामा वरिष्ठ नेता बालेन्द्र शाह बालेनकाे सम्बाेधन भने जम्मा तीन मिनेटकाे थियाे ।
उहाँले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताउनुभयाे । बरू भोट नदिए हुने काम चाहिँ दिन आग्रह गर्नुभयाे ।
‘बेली छकालै एउटा सुइना धेक्या थे, सुदूरपश्चिम र देश बनेको’ डाेटेली भाषामा सभामा उपस्थित नागरिककाे भावना हुने प्रयास गर्दै शाहले पैसा नभएका कारण शिक्षा र स्वास्थ्य सेवाबाट नागरिक बन्चित हुनु नपराेस् भन्ने एजेण्डा रास्वपाकाे रहेकाे उल्लेख गर्नुभयाे ।

त्यस क्रममा उनले सुदूरपश्चिमको सम्भावना, विकास निर्माणमा दिनुपर्ने गति र शिक्षा, स्वास्थ्यमा विपन्नले प्राप्त गर्नुपर्ने पहुँचको कुरा गरे । ‘त्यो सपना पूरा गरन्या हो, त्यो पूरा गरन्या पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’ शाहले भन्नुभयाे ।
मन्तव्यका क्रममा उहाँले सुदूरपश्चिममा प्रशस्तै संभावना रहेकाे उल्लेख गर्नुभयाे । उहाँले बडिमालिका, रामाराेशन, खप्तड क्षेत्रकाे उचित प्रवर्द्धन भएमा विकासले फड्काे मार्न सक्ने बताउनुभयाे ।
सुदूरपश्चिम हालसम्म केन्द्रसँग नजोडिएको शाहको भनाइ थियो ।
अरू प्रदेशमा पनि उद्घोष सभा हुनेछ। सभामामा उम्मेदवार र विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी छ।
हेर्नुहाेस् रास्वपाकाे नागरिक करार


