काभ्रेको नमोबुद्ध माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते

काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको थियो।

घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। 

त्यस्तै सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा काठमाडाैंमा एक जनाको मृत्यु भएकाे र अर्का एक जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर न.पा. ९, आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।

कार्तिक १ गते अन्दाजी २३:२० बजे रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। महमद जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका प्रहरील्े जनाएकाे छ ।

घाइते चालक ठाकुरको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेकोमा थप उपचारका लागि कात्तिक २ गते ०१:४५ बजे त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

Facebook Comments