प्रतिनिधिसभा निर्वाचन २०८२ः मत सर्वेक्षण नगर्न निर्वाचन आयाेगकाे आग्रह

निर्वाचन आयाेगले फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा कुनै पनि मत सर्वेक्षण नगर्न अनुराेध गरेकाे छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको हाे ।

दशौँ निर्वाचन दिवसका अवसरमा विहीबार निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही हुने बताउनुभयाे ।

निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गर्नुभयो ।

“राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उहाँले भन्नुभयो ।

कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उहाँकाे सम्पूर्ण मतदातालाई पनि अनुराेध समेत गर्नुभएकाे थियाे । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराउनुभएको थियो ।

निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गनुपर्नेमा समेत आयोगले सचेत गराएको छ ।

यतिबेला जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको छ । निर्वाचन शिक्षासम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालबाट समेत सार्वजनिक गरिरहेकाे छ ।

अहिले देशभरका छ हजार ७४३ वटै वडामा मतदातालाई शिक्षा दिने काम भइरहेको छ ।

२०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको हाे ।

Facebook Comments