माैसमः मुलुकका धेरै स्थानमा वर्षा हुने

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मध्यम वर्षाकाे संभावना रहेकाे छ।

महाशाखाका अनुसार हाल देशको तराई भू-भागमा अधिकांश बादल तथा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।

महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा,गण्डकी र कर्णाली थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको जनाएकाे छ ।

महाशाखाका अनुसार साेमबार दिउँसाे देशभर साधारणतया बादल लाग्ने तथा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

त्यसैगरी देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनएवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश  प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरुमा तथा बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

साेमबार राती देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ। त्यस्तै देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै  स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

रातकाे समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ । 

Facebook Comments