जनताकाे मत प्रतिशाेध साँध्ने लाइसेन्स हाेइनः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताकाे मत प्रतिशाेध साँध्ने लाइसेन्स नभएकाे बताउनुभएकाे छ ।
चितवनकाे भरतपुरमा पार्टीकाे प्रथम महाधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधनका क्रममा पछिल्लाे समय परिस्थिति बदलिएको र यो बदलिएको परिस्थितिले हामीलाई देशको शक्तिशाली पार्टी बनाएको उल्लेख गर्नुभयाे । उहाँले शक्तिशाली हुनु भनेको दम्भ गर्ने वा प्रतिशोध साँध्ने लाइसेन्स पाउनु होइन भन्ने कुरा रास्वपालाई राम्रोसँग थाहा रहेकाे समेत बताउनुभयाे ।
‘रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने अदम्य जनमतका साथ उपस्थित भएको छ। म मञ्चमा आसिन नेपाली राजनीतिका शीर्ष नेतृत्वहरूलाई साक्षी राखेर भन्न चाहन्छु, ‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ।’ लामिछानेले भन्नुभयाे ।
लोकतन्त्रका स्थायी मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार र समावेशी समाजका उपहारहरू हामीलाई अघिल्लो पुस्ता र तपाईँहरू जस्ता नेतृत्वले नै दिनुभएको हो, हामी यी उपलब्धिहरूको जगेर्ना गर्नेछौँ र यसको परिधिभन्दा बाहिर नजाने लामिछानेकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
पार्टीमा समूह बनाउने तर्फ नलाग्न अनुराेध गर्दै सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने पनि लामिछानेकाे भनाइ थियाे ।


